‘फाइनान्सियल नोटिसेस’ एप लाखभन्दा बढी पटक डाउनलोड (Abhiyan Daily)
‘फाइनान्सियल नोटिसेस’ एप लाखभन्दा बढी पटक डाउनलोड
फागुन २५, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको डिजिटल सूचना प्रवाह गर्ने वित्तीय साक्षरतामूलक ‘फाइनान्सियल नोटिसेस’ एप प्लेस्टोरमा एक लाखभन्दा बढीपटक डाउनलोड भएको छ ।
एप फल्टर प्रविधिमा अद्यावधिक गरी एपलाई प्रयोगकर्ता मैत्री बनाई केही महत्वपूर्ण फिचरहरु थप गरिएको बताइएको छ ।
यो एपबाट बैंक तथा वित्तीय संस्थाका ताजा आर्थिक सूचना, समाचार र महत्वपूर्ण आर्थिक जानकारी हेर्न पढ्न र सुन्न सकिने छ ।
त्यस्तै, व्यक्ति वा संस्थागत दैनिक कारोबारहरु खर्च र आम्दानीको हिसाब, कर्जा सापटी लेनदेनका हिसाब, वस्तु खरीदविक्रीका हिसाब, व्यावसायिक लेजरबुकमा राखिने हिसाब सहजै र सरल रुपमा लेखा राख्न सकिने जानकारी दिइएको छ ।
एप डाउनलोड गर्नेको संख्या एक लाख पुगेको उपलक्ष्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश अर्यालले भने, ‘डिजिटल सूचनाप्रति आम नागरिकको चासो बढ्नुले हामीलाई थप हौसला मिलेको छ । साथै बैंक वित्तीय क्षेत्रको सूचनालाई डिजिटाइज गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्ने अभियानमा हामीलाई झनै ठूलो जिम्मेवारी थपिएको महसुस गरेका छौं ।’
उनले भने, ‘हामीले यो रेस्पोन्स डिजिटल सूचनालाई नेक्स्ट लेभलमा लैजान, थप सेवासुविधा र वित्तीय साक्षरताको अभियान सार्थक बनाउन बैंक वित्तीय संस्थाहरु फाइनान्सियल नोटिसेससँग आबद्ध गर्न उत्प्रेरक ठानेका छौँ ।’
एपले आम नागरिकको वित्तीय आवश्यकता, चाहनाको विश्लेषण, वर्गीकरण, वित्तीय लक्ष्य निर्माण, बचत र त्यसको सही पहिचान गर्न मद्दत गर्दछ । त्यस्तै, ऋणको सही सूचनाबाट सही निर्णय लिन सक्ने ज्ञान, प्रयोग तथा व्यवस्थापन, पारिवारिक बजेट, बीमा, वित्तीय सेवाहरुको छनोट, प्रयोग, दैनिक व्यवहारलाई वित्तीयरुपमा सबल र सक्षम बनाउन सहयोग गर्ने बताइएको छ ।