“फाइनान्सियल नोटिसेस” एप नयाँ स्वरुपमा, यस्ता छन् थप सुविधाहरु (Aarthik News)

“फाइनान्सियल नोटिसेस” एप नयाँ स्वरुपमा, यस्ता छन् थप सुविधाहरु

काठमाडौं । फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोडको संख्या एक लाख नाघेको छ । यससँगै एप्स नयाँ प्रविधि (फल्टर टेक्नोलोजी) मा अद्यावधिक गरिएको छ । बैंक तथा वित्तीय संस्थाका सूचना, समाचार सहजै हेर्न सकिने गरी एप्सको पूरा डिजाइन नै युआई/युएक्स मा परिवर्तन गरिएको छ । एप्सलाई आकर्षक ग्राफिक्स लेआउटमा परिवर्तन गरी प्रयोगकर्ताको उत्कृष्ट अनुभव समेटिने हिसाबले प्रयोगकर्ता मैत्री बनाई केही महत्वपूर्ण फिचरहरु थप गरिएको कम्पनीले जनाएको छ ।        

नेपाली र अंग्रेजी दुवै भाषा छनोट गर्न मिल्ने, फिङ्गर प्रिन्ट वा पिनको सहायताले एप्स लक गर्न सकिने उक्त एप्स अबबाट डार्क मोडमा समेत प्रयोग गर्न सकिने भएको छ । व्यक्ति वा संस्थागत दैनिक खर्च र आम्दानीको हिसाब राख्ने फाइनान्स ट्रयाकर र कर्जा सापटी लेनदेनको हिसाब राख्ने क्रेडिट ट्रयाकरमा नयाँ सुविधा थप गरी व्यवस्थित गरिएको छ । 

त्यस्तै एप्समा लेजरबुकको सुविधा थप भएको छ, जसबाट प्रयोगकर्ताहरुले वस्तु खरिदबिक्रीका हिसाब तथा व्यावसायिक लेजरबुकमा राखिने हिसाब सहजै र सरल रुपमा लेखा राख्न सकिने भएको छ । ‘वित्तीय ट्रयाकरहरुमा प्रयोगकर्ताले विना इन्टरनेट वा अफलाइन भएको समयमा पनि आफ्नो हिसाब राख्न सक्नेछन् । त्यस्तै प्रयोगकर्ताले वित्त ट्रयाकरको डाटा सर्भरमा सेभ गर्ने कि मोबाइलमा मात्रै राख्ने भन्ने विकल्प छान्न सक्नेछन् । 

प्रयोगकर्ताको डाटा पूर्ण इन्क्रिप्टटेड गरी राखिने र यो पूर्णरुपमा निःशुल्क प्रयोग गर्न सकिने छ । सर्भरमा सेभ गर्दा मोबाइल हरायो वा नयाँ मोबाइल प्रयोग गर्दा पनि ब्याकअप गर्दाको युजर आइडी (इमेल) प्रयोग गरी आफ्नो डाटा सुरक्षित गर्न सकिनेछ । तर, मोबाइलमै सीमित गर्न चाहनेले सर्भरमा नपठाउने अप्सन छान्न सक्नेछन् । यसो गर्दा मोबाइल हरायो वा बिग्रियो भने डाटा सुरक्षित हुँदैन,’ कम्पनीका प्रबन्धक प्रकाश अर्यालले भने । एप्समा नयाँ फिनटेक अफरहरु थप गरिएको छ जसबाट बैंक, वित्तीय संस्था र समग्र वित्तीय क्षेत्रका नयाँ प्रोडक्ट र सुविधाबारे जानकारी लिन सकिन्छ । 

https://aarthiknews.com/news/50919